वि.सं.२०८३ वैशाख ३ बिहीवार

असोज १ देखि उपत्यकाका तारे होटलमा बस्ने विदेशीको डिजिटल ट्रयाकिङ गर्ने निर्णय

khanepani

काठमाडौँ । काठमाडौँ उपत्यकाको तारे होटलमा बस्ने विदेशी नागरिकलाई असोज १ गतेदेखि डिजिटल ट्रयाकिङ गर्ने निर्णय गरिएको छ । अध्यागमन विभागले सो निर्णय गरेको हो ।

होटल एसोसिएसन नेपालसँगको समन्वयमा पहिलो चरणमा तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गर्न लागिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । विभागले त्यसबारे म्यानुअल तयार गरेको छ ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न दर्ता तथा अनुगमन प्रणाली को विकाश गरिएको निर्देशक ढकालले जानकारी दिए । उनले भने, ‘असोज १ गतेदेखि यो प्रणाली काठमाडौँका तारे होटलमा सुरु गरिन्छ, त्यसपछि क्रमशः बिस्तार गरिने छ ।’

कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरेर जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरुले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने निर्देशक ढकालले जानकारी दिए ।

दोस्रो चरणमा देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरुमा लागु गर्ने विभागको योजना छ । सो प्रणाली क्रमशः सबै प्रकारका होटल तथा गेस्ट हाउसमा तथा सार्वजनिक तथा निजी संस्थाहरूमा पनि लागु गरिने ढकालले बताए ।

नेपालमा घुम्न आएर सम्पर्क विहीन हुने विदेशीहरूलाई सो प्रणालीमा आबद्ध भएसँगै खोज्न सहज हुने अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

ranechhap