वि.सं.२०८३ वैशाख ३ बिहीवार

एमाले विधान महाधिवेशनमा ४ वटा डिजिटल ढोका, परिचय पत्रको क्यूआर स्क्यान गरेरमात्र प्रवेश पाइने

khanepani

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ यही २०-२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ । महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जना सहभागी हुँदैछन् ।

‘दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । ती मृत्यु भएका, पार्टी छाडेका र कारबाहीमा परेकाको सूची हटाइएको छ । तर, ती रिक्त ठाउँमा नयाँ प्रतिनिधी छनौटको व्यवस्था छैन’ गौतमले भने ।

दशौं महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकालाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उनीहरू आयोजकको हैसियतमा रहने उनले बताए ।

केन्द्रीय कार्यलयले हिजो नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निम्तो पठाएको छ । केही प्रतिनिधीको मोवाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीमार्फत् निमन्त्रणा गरिएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, साँगठनिक र विधान छपाइको काम भइरहेको छ । निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइ भइरहेको छ ।

प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ । एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदन महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य प्राविधिक विषयमा निर्णय हुनेछ ।

प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ ।

परिचय पत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । डा. अधिकारीका हलमा छिर्न प्रतिनिधिलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ ।

खाना र खाजाका लागि हिजो ब्यांक्वेटलाई जिम्मा दिइएको साथै महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ । विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटी सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र झण्डा राख्ने तयारीमा जुटेका छन् ।

ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने र भक्तपुरले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकाशे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको कार्यसूची तयार गर्न महासचिव शंकर पोखरेलको उपस्थितिमा अहिले बैठक बस्दैछ ।

ranechhap