वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नारायणी अस्पतालमा हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट गरेका छन् । पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले शुक्रबार बिहान नारायणी अस्पतालको अनुगमनसमेत गरेका हुन ।
भेटघाटका क्रममा महामन्त्री थापाले बिरामीहरूलाई सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता दिएका छन् । अस्पतालको इमरजेन्सी वार्डमा उपचाररत बिरामीहरूसँग भेटघाट गर्दै सरकारले तत्काल राहत प्याकेज घोषणा गर्न जरुरी रहेको औँल्याएका छन् ।
यसका साथै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हैजाको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएको अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले बताए । उनका अनुसार थापाले अस्पतालमा ५ सय शय्यामा स्तरोन्नति गर्नका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
पर्सामा जिल्लामा शुक्रबारसम्म १५२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।









































