काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेको संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार प्रस्थान गर्ने कार्यक्रम छ । साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । चीनपछि भारत भ्रमणमा जाने तालिका रहेको छ ।
आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक-कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीको सम्बोधनलाई दुई प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बहिष्कार गर्ने भएका छन् । भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै दुई दलले लामो समयदेखि गरिरहेको संसद बहिष्कारलाई आज पनि निरन्तरता दिने भएका हुन् ।
आज रास्वपाले प्रधानमन्त्रीलाई बोल्न दिने भनेर केही सञ्चारमाध्यममा आएका समाचारलाई प्रवक्ता मनिष झाले इन्कार गरे ।
उनले भने, ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ । हाम्रो मागको सम्बोधन नभएकाले प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं ।’
रास्वपाको तर्फबाट गणेश पराजुलीले बोलेर सबै सांसदहरू बाहिरिने तयारी गरिएको छ ।
यस्तै राप्रपाले पनि संसद बहिष्कार गर्ने सो पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय भएको छैन । बहिष्कार जारी रहन्छ ।’






































