वि.सं.२०८३ वैशाख १७ बिहीवार

अहिलेको मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दै गरेको जस्तो हो : घनश्याम भुसाल

khanepani

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दै गरेको अवस्था जस्तै भएको बताएका छन् ।

वर्तमान राजनीतिक सङ्कट र निकासबारे सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलमा गरेको बहस कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

‘अहिलेको अवस्था भनेको सर्पले काँचुली फेर्दै गरेको अवस्था जस्तै हो’, उनले भने, ‘आजको छटपटी नयाँ इतिहासको पीडा हो ।’

उनले समाजमा रहेको उकुसमुकुस यति तीव्र रूपमा बढिरहेको पनि बताए । ‘यो यति बढेको छ कि यसले विभिन्न ठाउँमा विभिन्न हिसाबले प्रतिक्रियाहरू उत्पन्न गरेको छ ।’

उनले कम्युनिस्ट आन्दोलन विघटनबाट देशभर र बाहिरका शुभचिन्तकहरूलाई पनि चिन्तित तुल्याएको बताए । उनले मुलुकबाट पञ्चायत, राजतन्त्र गए पनि पार्टीहरूको ढाँचा नबदलिँदा दलाल पुँजीवाद पनि कायमै रहेको बताए ।

उनले अहिलेको आवश्यकता वामपन्थी कम्युनिस्टहरू ध्रुवीकरण जरुरी रहेको भन्दै अहिले आफूहरूले नगरे अरू कसैले भए पनि निरन्तर प्रयास गरेर ध्रुवीकृत र कम्युनिस्ट एकीकृत भइछाड्ने दाबी गरे ।

‘आन्दोलन ध्रुवीकृत गर्नसक्छौँ । आज जुन परिस्थिति छ यसो हेर्दा आज मात्र निस्किएको परिस्थिति होइन, धेरै अघिदेखि देखिएको अन्तर्विरोध हो’, उनले थप भने, ‘अव यो समाजले थेग्दैन भनेर समाजले बुझिसकेको तर नयाँ नबनिसकेको अवस्था पनि छ ।’

एमाले, माओवादी वा एकीकृत समाजवादीका नक्कली सीमा भत्काउनुपर्ने र अगाडिको भविष्य छेक्न नहुने भुसालको भनाइ छ । त्यसका लागि त्यो सीमा भत्काउन अहिलेबाटै छलफल गर्नुपर्नेमा भुसालले जोड दिए ।

ranechhap