काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरूको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा: उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरू अर्थहीन हुने टिप्पणी गरे ।उनले सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न नसकेको औँल्याए ।
उनले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जाने रहेको दोहोर्याए ।
उनले सांसदहरूलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके विधायिकी काम प्रभावकारी हुने पनि तर्क गरे ।
सापकोटाले संविधानलाई समयानुकूल संशोधन गरी जनतामुखी बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदहरूले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नै माओवादी केन्द्रको दीर्घकालीन दृष्टिकोणको रूपमा अघि सारिरहेको पनि बताए ।









































