काठमाडौं । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेपछि राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास भएका छन् । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला नेपाली कांग्रेस आन्तरिक रणनीतिमा जुटेका छ ।
कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । विपक्षी अन्य पार्टी र एमालेको माधव नेपाल पक्षलाई समेत समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने प्रयासमा कांग्रेस छ । यसकै लागि नेपाली कांग्रेसको दलको बैठक बसिरहेको छ ।
यता प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको एक मन्त्रीले बताए ।
ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने नजाने बताइएको छ ।
तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।
प्रधानमन्त्रीलाई पदच्युत गराउने खेल पार्टी भित्र र बाहिर चलिरहेका अवस्थामा प्रधानमन्त्रीले संसद विघटन अर्थात कोभिडले मुलुक आक्रान्त भएको समयमा देशवासीलाई औषधि र खाद्यान्यको प्रबन्ध गर्ने समयमा पद र शक्तिका लागि हुने खेललाई केहि समय सार्न स्वास्थ्य संकट काल लगाउने सम्भावना रहेको स्रोतले दावी गरेको छ ।
प्रधानमन्त्री ओलीले तीन विकल्पमा आफु निकटहरुसँग छलफल चलाई रहेका छन । उनले संसद विघटन, संकटकाल र राजिनामा कुन उपयुक्त हुने भन्ने विषयमा छलफल भईरहेको स्रोतको दावी छ ।