काठमाडौं । हालै मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता वामदेव गौतमले आफू एमाले विभाजन भएर पार्टी गठन हुने बेलामै आउन चाहेको बताएका छन्। पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कारणले नमिलेको पनि बताए।
उनले भने, ‘एमालेको शक्तिशाली जिम्मेवारी थिए, पार्टी निर्माणसम्बन्धी काम उत्साहपूर्वक गरेको थिएँ। त्यसबेला मैले मसँग त्यही शक्ति छ भन्ने सोचेको थिएँ, म लागे भने फुटेका पार्टी जुटाउन सक्छु भन्ने लागेको थियो। केही त गर्नुपर्यो, साँच्चिकै केही त गर्नुपर्यो भन्नेमै सीमित भइयो।’
उनले शक्तिबिना अरू पार्टी मिलाउन नसक्ने निष्कर्षमा पुगेको बताए।
उनले थपे, ‘म सानो टुक्रा लिएर गएर ठुला पार्टीहरूलाई तपाईँहरू जुट्नुपर्छ भन्दा मेरो शक्ति नहुँदो रहेछ। मेरो आवाज हराउँदो रहेछ। त्यसपछि पार्टी निर्माण गर्न लाग्दा पनि भएन। बनेको पार्टीमा पहिला यहीमा खोजेँ।’
उनले राष्ट्रिय एकता अभियान चलाउँदा समेत आफूलाई निष्कासन गर्ने गरी दुई घटना घटेको स्मरण गरे। उनले नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै सबैलाई एउटा न एउटा कार्यक्षेत्र तोकेर पार्टी निर्माणको काममा लगाउनुपर्ने बताए।
उनले थपे, ‘म नै तल्लो तहमा गएर काम गर्न तयार छु, मसँग अर्को कोही नेता पनि जानुहोला। कम्तीमा देशभरिका ७५३ पालिकामा ५ जनाको कमिटी निर्माण गर्न सक्यौँ भने पनि हुन्छ। १० जनाको कमिटी बनाउन सक्यौँ भने हाम्रो पार्टीको सदस्य सङ्ख्या २० लाख पुग्छ।’









































