वि.सं.२०८३ वैशाख ३ बिहीवार

सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जना प्रतिवादीको बयान सुरु

khanepani

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जना प्रतिवादीको बयान सुरु भएको छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठसँग बयान लिने काम भइरहेको छ । प्रतिवादीसँग बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई पौने १६ करोड रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ६ जना प्रतिवादीबाट जनही १५ करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरेको छ । पौडेलविरुद्ध अख्तियारले यसअघि आरआईएससी र एचसीआई सर्भर खरिदमा ३ अर्ब १४ करोड रुपैयाँ तथा सुरक्षा र नेटवर्क उपकरण खरिदमा ३ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप उनीहरू विरुद्ध छ । उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी उनीहरूले २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरेका थिए ।

यस्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा रहँदा पौडेलले बिलिङ प्रकरणमा गरेको भ्रष्टाचार मुद्दा पनि अदालतमा विचाराधीन छ ।

ranechhap