वि.सं.२०८३ वैशाख ८ मंगलवार

पूर्वमन्त्री शेर्पामाथि भोजपुर एमालेको कारबाही तयारी, ७ दिने म्याद दिएर पुन: स्पष्टीकरण सोध्ने

khanepani

भोजपुर । नेकपा एमाले भोजपुरले पूर्वमन्त्री कृपाशुर शेर्पालाई कारबाहीको तयारी गरेको छ । शनिबारको जिल्ला कमिटी बैठकले शेर्पालाई ७ दिनको अल्टिमेटमसहित पुन: स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले मोरङको अधिवेशनमा संस्थापनइतिरको जितपछि शेर्पाले लेखेको स्टाटसलाई लिएर गत जेठ ११ मा पहिलो स्पष्टीकरण सोधिएको थियो ।

हिजोको बैठकमा अध्यक्ष मक्कर खड्काले यसअघि पदाधिकारी र सचिवालयको निर्णयअनुसार सोधिएको स्पष्टीकरणको जवाफ नआएको जानकारी गराए । थप ७ दिनको म्याद दिएर पुन: स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाहीको लागि सिफारिस गर्ने खड्काले बैठकमा जानकारी गराएको एक सदस्यले बताए ।

शेर्पाले फागुन २३ मा फेसबुकमा लेखेका थिए, ‘मोरङका कमरेडहरू सचेत रहेछन्, भोजपुरमा जस्तो उधारो पदको लोभमा कोही नफसेकाले खेलाडीको खेल तुहाएछन् ! मज्जा लाग्यो । सलाम कमरेडहरू !’

जिल्ला अध्यक्ष खड्काले उक्त अभिव्यक्तिले जिल्लामा निर्वाचित नेतृत्व, पार्टी सदस्यप्रति अपमानसहित भ्रम उत्पन्न गराएको बताएका छन् ।

१५ दिनभित्र जवाफ मागिएको उक्त स्पष्टीकरणमा शेर्पालाई किन यस्तो अभिव्यक्ति दिएको ?, पार्टीमा बस्न तपाईँलाई नैतिक वा वैधानिक आधार के हो ?, विधानअनुसार किन कारबाही नगर्ने भनी प्रश्न गरिएको छ ।

जिल्ला कमिटी सचिव एक्सन राईले अबको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआए कारबाहीका लागि उपल्लो कमिटीमा सिफारिस गर्ने निर्णय भएको बताए ।

नेता शेर्पाले पूर्वाग्रही ढंगले आफूमाथि स्पष्टीकरण सोधेको बताएका छन् । उनले आफू पार्टीको संघीय मामिला तथा केन्द्रीय प्रशासन विभागको सदस्य भएकाले जिल्लाले स्पष्टीकरण र कारबाही गर्न नमिल्ने जिकिर गरे ।

जिल्ला कमिटी आफैँले नभई कसैको निर्देशनमा स्पष्टीकरण सोधेको भन्दै शेर्पाले भने, ‘म केन्द्रीय विभागको सदस्य हुँ । मैले केही गल्ती गरेको भए त मेरो विभागले सोध्छ नि ! मातहतको कमिटीले कि माथिल्लो कमिटीमा उजुरी गर्नु । कसैद्वारा निर्देशित स्पष्टीकरण हो यो । किन सोधेको थाहा पाएको छैन’, शेर्पाले भने ।

शेर्पा गत वर्ष भएको जिल्ला अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।

ranechhap