काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न जेलहरूमा हाल ४७३ जना नेपाली कैदीबन्दी रहेका छन् । यो संख्या हालसम्मकै बढी हो । जेलमा परेका कतिपय नेपालीले समय समयमा आममाफी पाएर स्वदेश फर्किने गरेको र जेलमै रहेका नेपाली नागरिकको सहयोगका लागि दूतावासले कानुनी सहायता प्रदान गर्न कानुनी सहयोगी नियुक्ति प्रक्रिया सुरु गरिसकिएको र नियुक्तिपछि कानुनी सहयोग गर्न थप सहज हुने यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बताए ।
दूतावासका अनुसार कैदी बनेका नेपालीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, जाँड,रक्सी सेवन, घरेलु विवाद, अवैध बसोबास, आर्थिक लेनदेन तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पनि नेपालीहरू जेल जीवन बिताइरहेका छन् । यसरी जेल पर्नेमा ३६ जना महिला र ४ सय ३७ जना पुरुष छन्।
यूएईका विभिन्न जेलमा रहेका नेपालीको अवस्था र उनीहरूलाई प्रदान गर्न सकिने कानुनी सहजीकरणका लागि भन्दै नेपाली दूतावास आबुधावी हालै यहाँका सातैवटा राज्यका विभिन्न जेलसम्म पुग्ने अभियान सुरु गरेको र हाल सम्म विभिन्न ३ वटा जेल भ्रमण गरिसकिएको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रन्जिता दाहालले बताइन।
दूतावासका अनुसार दुबईका विभिन्न चौकी तथा सुधार गृहमा सबै भन्दा धेरै १९ महिला र २७० जना पुरुष कैदी जीवन बिताई रहेका छन् भने दुबईकै सेन्टरजेल अल अबिरमा १ महिला सहित ४५ जना नेपाली नागरिक छन्। त्यस्तै आबुधावी सेन्टर जेलमा ६ महिला सहित ६१ पुरुष, अलऐनमा १ महिला र ३ जना पुरुष तथा आबुधाबीकै जेलको केयर सेन्टरमा १ महिला र सुधार गृहमा ५ जना पुरुष जेल जीवन बिताई रहेका छन्।
त्यस्तै यूएईको सारजाह जेलमा ७ जना महिला सहित १६ जना पुरुष , रसअलखेमा राज्यमा रहेको जेलमा १ जना महिला सहित १५ पुरुष , अजमानमा रहेको जेलमा ७ जना पुरुष कैदी जीवन बिताइरहेका छन् । त्यस्तै सबै भन्दा थोरै नेपाली कार्यरत रहेको मानिने उम्मलक्वीन राज्यको जेलमा ६ जना पुरुष जेलमा छन्।
त्यस्तै फुजेराहमा रहेको जेलमा ९ जना नेपाली पुरुषले कैदी जीवन बिताइरहेको नेपाली दूतावास अवुधावीले जनाएको छ ।









































