वि.सं.२०८३ वैशाख ८ मंगलवार

टुइनेटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या : मन्त्री पाण्डे

khanepani

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने टुइनेटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित वृहत् छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित नहुँदा सङ्घीय सरकारको ध्यानाकर्षण गराएको थियो ।

छलफलमा मुख्यमन्त्री कँडेल, पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशका मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

छलफलका क्रममा सहभागीहरूले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखेका थिए ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्य योजना बनाउन आग्रह गरे ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए । उनका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट विभिन्न दुर्गम जिल्लामा नियमित उडान गर्न सकिनेछ ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले टुइनेटर जहाजको कमीका कारण दुर्गम जिल्लामा सेवा विस्तार गर्न नसकिएको स्पष्ट पारे । उनले भने,“सम्बन्धित निकायसँग प्राविधिक छलफल गरेर मात्र सुर्खेतलाई आधार बनाएर उडान सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने टुङ्गोमा पुग्नेछौँ।”

उनका अनुसार हाल देखिएको टुइनेटर विमानको कमी समाधान गर्न मन्त्रालयले सातै प्रदेशका लागि सात वटा टुइनेटर जहाज खरिद गर्ने प्रस्ताव विषयगत समितिमा अघि सारेको छ ।

पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँग सहकार्यमा सेवा विस्तार गर्ने विश्वास व्यक्त गर्दै मन्त्री पाण्डेले भने, “नेपाल एयरलाइन्सका दुई वटा टुइनेटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन। दीर्घकालीन सोचका साथ नयाँ विमान थप्नैपर्छ ।”

मन्त्री पाण्डेले मुलुकभर ५३ वटा विमानस्थल रहे पनि अहिले सीमित सङ्ख्यामा मात्रै जहाज सञ्चालन भइरहेको तथ्य औँल्याउँदै भने,“हाम्रो देशमा ५३ वटा विमानस्थल छन्, तर टुइनेटर विमानको सङ्ख्या घट्दै गएको छ। यसरी विमान घट्दै गएमा दुर्गम क्षेत्रका नागरिकहरूको जीवन झनै कठिन हुन्छ। हुम्ला र लुक्ला बाहेक अरू धेरै विमानस्थल प्रायः निष्क्रिय बनेका छन् ।”

ranechhap