काठमाडौँ । आइतबार चन्द्रागिरीस्थित चोभारबाट बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका राजेन्द्रबहादुर गोर्खाली नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । गोर्खाली सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्यमा सबै भन्दा बढी मत ल्याएर विजयी भएका थिए ।
कांग्रेसको २०७८ सालमा भएको १४ औँ महाधिवेशनमा काठमाडौँबाट सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता सारेका थिए । सिन्धुपाल्चोक कांग्रेसका एक नेताका अनुसार उनी जिल्लामा मोहनबहादुर बस्नेत विरोधी खेमामा थिए ।
केन्द्रमा भने उनले आफ्नो नेता सभापति शेरबहादुर देउवा भएको बताउने गरेका छन् । गोर्खाली २०७९ सालमा भएको निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका थिए ।
उनको नाम उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएको थियो । उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस हुँदा गोर्खालीको २ नम्बरमा सिफारिस भएको थियो ।
सूचीको एक नम्बरमा पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, तीन नम्बरमा शिव सुनार, ४ नम्बरमा बिलबहादुर तामाङ र पाँच नम्बरमा शंकर लामा उम्मेदवार सिफारिस भएका थिए ।
गोर्खालीलाई काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको आरोपमा बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गोर्खालीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट जारी भएके पक्राउ पुर्जीका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी दिए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका ५५ वर्षीय गोर्खाली यसअघि २०७४ र २०७५ मा पक्राउ परेर छुटेका थिए ।









































