बुटवल । दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका छन् ।
गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।
कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्याउन गाडी उपलब्ध गराउने निर्णय गरेको उनले बताए । २५ वर्षिय वडा अध्यक्ष सिद्दिकीले कोरोना संक्रमण अन्त्य नहुँदासम्म आफू मोटरसाइकलमा यात्रा गर्ने बताए ।
बिहीबार मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले आफू चढ्दै आएको नगरपालिकाको दुई वटा स्कारपियो गाडी पनि संक्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि नगरपालिकालाई दिएका थिए ।