वि.सं.२०८३ वैशाख ११ शुक्रवार

लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता

khanepani

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।

सचिव श्रेष्ठको भूमिकालाई अझ बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाई स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने कार्यक्रम र प्रवाह हुने सेवालाई सुधार गर्दै नतिजामा आबद्ध गर्न कार्यसम्पादन सम्झौता गरिएको मन्त्री सारुले बताए । सम्झौताको कार्य अवधि २०८३ असार मसान्त सम्म रहने स्वास्थ्य मन्त्रालय लुम्बिनीले जनाएको छ ।

सम्झौतामा संलग्न सूचकहरू बमोजिम आफूले गरेका कार्यहरू चौमासिक रूपमा र आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र मन्त्री समक्ष कार्यसम्पादन सम्झौताको स्वमूल्याङ्कन प्रतिवेदन सहित बुझाउनुपर्ने जनाइएको छ ।

बाल मृत्युदर, मातृ मृत्युदर, पूर्ण खोप उपलब्धता भएका बालबालिका, पाँच वर्ष मुनिका कम तौल भएका, पुड्कोपना भएका, ख्याउटेपना भएका, मन्त्रालय अन्तरगतको समग्र खर्च, बेरुजु फर्छ्यौट, गुनासो फर्छ्यौट, प्रदेशमा स्वास्थ्य बिमामा आबद्ध जनसंख्यालगाएतका विषयमा आर्थिक वर्षको अन्त्यमा पुरा गर्नुपर्ने लक्ष्य तोकेर सम्झौता गरिएको मन्त्री सारुले बताए ।

त्यस्तै विभिन्न भौतिक संरचना निर्माण तथा पुनः निर्माण, पोषण सुधार कार्यक्रम, संक्रामक रोग न्यूनीकरण, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, रक्तसञ्चार सेवा कार्यक्रम, प्रदेशभित्रका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम, स्वास्थ्य सम्बन्ध विभिन्न नीति, ऐन, नियमावली, रणनीति, निर्देशिका, मापदण्ड, कार्यविधि तथा उपचार प्राटोकल निर्माण गर्ने विषयमा कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यसम्पादन सम्झौतामा पहिलो, दोस्रो, तेस्रो चौमासिक र वर्षभरि गर्नुपर्ने कामको वर्गीकरण गरिएको छ । प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठले कार्यसम्पादन सम्झौताले काम गर्न थप हौसला मिलेको बताइन् । उनले सम्झौता अनुसार काम गर्ने डेडलाईन हुँदा थप सक्रियता बढ्ने विश्वास व्यक्त गरिन् । स्वास्थ्य मन्त्रालय लुम्बिनीले स्वास्थ्य निर्देशनालय र निर्देशनालयले मातहतका संस्थाहरुसँग कार्यसम्पादन सम्झौता गरेर प्रभावकारी कार्यान्वयन गरिने श्रेष्ठले बताइन् ।

ranechhap