काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ४९.५३ प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड २४ लाख रुपैयाँ गर्दा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २५ करोड ५२ लाख छ । बैंकको कुल सञ्चालन आम्दानी १२ अर्ब ८४ करोड ३७ लाख रहेको छ भने सञ्चालन नाफा ५ अर्ब ३८ करोड २५ लाख छ ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको यस्तो आम्दानी २४.४१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १६.३२ रुपैयाँ प्रतिशेयर आम्दानी थियो । गत आवमा बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख रुपैयाँ छ । बैंकको लाभांश क्षमता १.९४ प्रतिशत छ ।
चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ छ । गत आवमा बैंकले ५ खर्ब ४१ करोड ४६ लाख निक्षेप संकलन गरेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.५९ प्रतिशत छ ।








































