काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयलाई सरकारले प्रहरीको संरचना राखेर मृत्यु संस्कारका लागि घाटमा जाँदासमेत ज्यादती गर्दै आएको बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मिजारले सरकारले पीडितहरूको माग सम्बोधन गर्न पटक पटक गरेको सम्झौता कार्यान्वयन नगरेपछि स्थानीयहरू फोहोर विसर्जन गर्न रोक लगाउने मनस्थितिमा पुगेको समेत बताइन् ।
‘नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय वर्षौदेखि फोहरबाट सिर्जित दुर्गन्ध र वातावरणीय प्रदूषणका कारण क्यान्सरलगायतका जटिल स्वास्थ्य समस्या र अन्य विविध समस्याबाट पीडित हुँदै आएका छन् । हाल सरकारले त्यहाँ प्रहरीको संरचना राखेर स्थानीयहरूलाई मृत्यु संस्कारका लागि घाटमा जाँदा समेत ज्यादती गर्दै आएको स्थानीयहरूको गुनासो रहेको छ,’ सांसद मिजारले भनिन्, ‘सरकारले पीडितहरूको माग सम्बोधन गर्न पटक–पटक सम्झौता गरेता पनि कार्यान्वयन नगरेपछि स्थानीयहरू उक्त स्थानमा फोहोर विसर्जन गर्न रोक लगाउने मनस्थितिमा पुगेका छन् ।’
फोहोर विसर्जनमा रोक लगाए राजधानीमा बसोबास गर्ने ५० लाखभन्दा बढी जनता प्रत्यक्ष रूपमा प्रभावित बताउँदै उनले यति गम्भीर विषयलाई सरकारले किन नजर अन्दाज गरिरहेको छ भन्दै प्रश्न गरिन् । उनले यसको जबाफदेही को हुने ? भन्दै प्रश्न पनि गरिन् ।
स्थानीयवासीको मागको सम्बन्धमा विगतमा गरिएका सम्झौताको पूर्णरुपमा कार्यान्वयन गरी समस्याको दिगो समाधान गर्न उनले सरकारसँग माग गरिन् ।









































