वि.सं.२०८१ चैत ३ आइतवार

लुम्बिनीका अस्पतालमा संक्रमितको चाप, बढ्यो उपचारका लागि पालो कुर्नुपर्ने

रूपन्देही । वैशाखको शुरूआतदेखि बढेको कोरोना महामारीको दोस्रो लहर चौथो सातासम्म आइपुग्दा रुपन्देहीमा भयावह देखिन थालेको छ । दिनप्रतिदिन संक्रमितको चापले अस्पतालको क्षमताले बिरामी थेग्न छाडेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट बुधबार मात्र १३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । सक्रिय संक्रमित ४ हजार ९ ५५ पुगेको छ ।

बढी जनघनत्व भएको बुटवल, तिलोत्तमा, भैरहवा, सैनामैनामा बढी संक्रमित देखिएका छन् र मृत्युदर पनि त्यो क्षेत्रमा बढी छ । स्वास्थ्य कार्यालय रूपन्देहीले विभिन्न अस्पतालमा २०७ जना गम्भीर अवस्थाका संक्रमितहरू उपचाररत रहेको जनाएको छ ।

संक्रमितका लागि बनाइएका बुटवल र भैरहवाका दुई कोरोना विशेष अस्पतालमा क्षमताभन्दा दोब्बर बिरामीको उपचार भइरहेको छ भने निजी अस्पताल पनि भरिएका छन् । शय्या अभावमा सिकिस्त बिरामीलाई समेत भुइँमै राखेर उपचार गर्न बाध्य भएको अस्पतालका अधिकारीहरू बताउँछन् ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालमा विरामीहरूको अत्यधिक चाप बढेपछि बिरामीले नै ल्याएका लत्ताकपडा ओछ्याएर उपचार भइरहेको छ ।

भीम अस्पतालमा बिरामी चाप थेग्नै नसक्ने अवस्था आएपछि संक्रमित अस्पतालको पिँढीमै छट्पटाइरहेका छन् । आफन्तको हारगुहारपछि स्वास्थ्यकर्मीले भुइँमा र अस्पतालको पिँढीमा राखेर जेनतन अक्सिजन त दिएका छन् तर रेखदेख गर्ने स्वास्थ्यकर्मी छैनन् ।

अस्पतालमा कोभिडका लागि छुट्याइएका आईसीयू, भेन्टिलेटर र एचडियू बेड मात्रै होइन, इमरजेन्सी कक्षका बेडसमेत खाली छैनन् । संक्रमितले बेड पाउनै ३र४ दिन पालो कुर्नु पर्ने अवस्था छ ।

५ दिन कुरेपछि बल्ल एउटा बेड पाएको तिलोत्तमाका संक्रमित कमला मरासिनीका पति केशवले बताए । ‘सकेसम्म त अस्पताल कसैलाई आउन नपरोस् । बेड अभाव छ जनशक्ति केही छैन । हामीजस्ता कुरुवालाई समेत संक्रमणको खतरा छ’ उनले बताए ।

रुपन्देहीमा अहिलेसम्म २३२ संक्रमितको मृत्यु भएको छ । बिरामीको चापका बीच अस्पतालको क्षमताले भ्याएसम्म उपचारमा कुनै कसर बाँकी नराखेको प्रवक्ता डाक्टर नारायण पोखरेल बताउँछन् ।

कोभिड कक्षमा संक्रमितको उपचार थेग्न नसकेपछि आकस्मिक कक्षमा उपचार शुरू गरेका थियौ, त्यो पनि भरिसकेको छ संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी रहेको छ उनले भने ।

अस्पतालमा अहिले ४० जना कोभिडका बिरामी उपचार गराइरहेका छन् । कोभिड कक्षतर्फ ४, आईसीयूमा, १८ जना एचडीयूमा छन् भने बाँकी आकस्मिक कक्षमा उपचाररत् छन् । भएको जनशक्तिले कोभिडको उपचार गरेपनि अहिलेसम्म फिजिसियन आएका छैनन्, ८ जना मेडिकल अफिसर १४ जना सिस्टर र कार्यालय सहयोगीबाट उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

डा. पोखरेलले बेडमा रहेका ‘बिरामी संक्रमणमुक्त भएपछि वा मृत्यु भएपछि बल्ल अर्कोले बेड पाउने’ तीतो यथार्थ सुनाए । यहाँ २५ बेडको एचडीयू, ५ बेडको आईसीयू र ४ भेन्टिलेटर छन् । एचडीयू र आईसीयूका सबै बेड भरिएपछि ११ जनालाई भुइँमै उपचार थालिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवलस्थित कोरोना विशेष अस्पतालका सबै बेड भरिएका छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना अस्पतालको ३६ बेडको एचडीयू, १५ बेडको आईसीयू र ७ बेडको फिवर क्लिनिक समेत भरिएर इमर्जेन्सीमा राखेर उपचार गरिएको बताए ।
लुम्बिनी प्रादेशिक र भीम अस्पतालसंगै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज यूसीएमएस, मणिग्रामको क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजले पनि कोरोना संक्रमितहरूको लागि बेड छुट्याएर नै उपचार शुरू गरेका छन् ।

यूसीएमएसमा अहिले पनि एचडीयूमा ५५, आईसीयूमा २ भेन्टिलेटरमा ७ जना संक्रमितको उपचार भईरहेको छ । त्यस्तै इमर्जेन्सी आइसोलेसनमा ३१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ अक्सिजनसहितका १४७ बेड छुट्टयाएकोमा अक्सिजन अभाव हुन थालेपछि बिरामी भर्ना गर्न नसकिएको अस्पतालले जनाएको छ ।

मणिग्रामस्थित क्रिमसन अस्पतालले पनि कोभिडको लागि छुट्याएका सबै बेडमा संक्रमितले भरिएका छन् । अस्पतालले १० बेडको एचडीयू, ५ बेडको सीसीयू र एउटा भेन्टिलेटर कोभिडका विरामीको लागि छुट्याएको जनाएको छ । ती सबै बेडहरू विरामीले भरिएका छन् । त्यस्तै देवदह मेडिकल कलेजमा पनि चारजना संक्रमितको उपचार भइरहेको छ ।

संक्रमित बढ्दै जांदा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोभिडका विरामीहरूको उपचारको लागि अस्थायी अस्पताल बनाउने योजना अगाडि सारेको छ । बुधवारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका भोजप्रसाद श्रेष्ठले कोभिड संचालनको लागि बुटवलका केही भौतिक संरचनाहरू हेरिएको र तत्काल सर्वपक्षीय छलफल राखिएको बताए ।

हाम्रो पहिलो काम नै कोभिड नियन्त्रण र बिरामीको उपचार हुनेछ, अहिले संचालनमा रहेका अस्पतालले चाप थेग्न नसक्ने भइसकेका छन्, छिट्टै अरु कुनै भौतिक संरचनामा भएपनि बिरामीहरूको उपचार गर्ने प्रबन्धमा जुट्ने छौं ।

स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी वैशाख शुरूसँगै गाउँघरमा विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता गतिविधिले संक्रमण फैलिनुमा टेवा पुगेको अनुभव सुनाउँछन् ।

रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल युसीएमएस ले कम्तीमा पनि दैनिक ८०० अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ ।

बिरामीको चापलाई थेग्न अस्पतालले तयारी अवस्थामा रहेको थप ६० वेडको एचडीयूसमेत सञ्चालन गर्न असमर्थ हुनुपरेकोले सहयोग र समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसंग युसीएमएसले अपिल गरेको हो ।

भारतमा कोरोनाको महामारी, स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा, अनपेक्षित अघोषित लोडसेडिङले अक्सिजनको उत्पादनमा कमी आएको बताइएको छ ।