विराटनगर । आफ्नै घरमा काम गर्न राखिएकी नाबालिगलाई यौन दुर्व्यवहार गरी फरार भएका सुनसरी वराहक्षेत्रका अर्थराज कोइराला पक्राउ परेका छन् । पहुँचको आधारमा उनी लामो समयदेखि पक्राउ परेका थिएनन् ।
नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका कोइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा उनले आफ्नै घरमा बस्ने नाबालिगलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरे पनि उनी धरौटीमा छुटेका थिए । कोइरालालाई सुनसरी जिल्ला अदालतले ले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो ।
बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भए पनि उनी पक्राउ परेका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला मङ्गलवार विराटनगरबाट पक्राउ परेका छन् ।
अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।
विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मङ्गलवार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियान चलाएको थियो ।









































