वि.सं.२०८३ असार १३ शनिवार

सम्झौता बमोजिम ३ मन्त्रीलाई शपथ नगराएपछि बानियाँसँग बहादुर रुष्ट,हिँडे देउवालाई भेट्न काठमाडौं

सभापतिज्यूले भन्नुभएको कुरा पनि कार्यान्वयन भएन, आफ्नै पार्टीका मुख्यमन्त्री हटाउने यो नजिरले भोलि ठूलो क्षति हुनेछः लामा

khanepani

काठमाडौं । आफूले सिफारिस गरेका मन्त्रीहरु नियुक्त नभएकामा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा असन्तुष्ट भएका छन् । उनले आफू अल्पमतमा पर्दा सिफारिस गरेका तीन मन्त्री समेटेर बागमती प्रदेश सरकार बनाउने सहमति भएपछि मात्रै राजीनामा दिएका थिए ।

तर, पार्टी सभापति शेरबहादुर देउवालेसमेत भनेको नमानेर नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सहमति उल्लंघन गरेको भन्दै शपथ ग्रहण समारोहबाट बाहिर निस्केर पत्रकारहरुसँग असन्तुष्टि जनाए ।

उनले भने, ‘आदरणीय सभापतिज्यूले भन्नु भएको कुरा पनि कार्यान्वयन गरिएन ।’ उनले आफ्नै पार्टीका मुख्यमन्त्री बदल्ने नजिर बसाएर गलत संस्कार विकास गरिएको भन्दै आपत्ति जनाए ।

‘यो संविधानविरुद्ध हो, गलत नजिर बस्यो’, उनले भने, ‘भोलि यसले ठूलो क्षति हुनेछ ।’ उनी सहमति कार्यान्वयन नभएकाले पार्टी सभापति शेरबहादुर देउवा भेट्न जाने भन्दै साँझ काठमाडौँ हिँडेका छन् ।

उनले आन्तरिक मामिला तथा कानून, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त गरेका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई नियुक्ति दिएपछि उनीहरुलाई सरकारमा समेट्न पार्टी सभापति देउवा सहमत भएको र राजीनामा दिन तयार भएको बताएका थिए । तर मंगलबार उनीहरु कसैको पनि शपथ भएन ।

सभापतिकै मान्छे मन्त्रालयविहीन

मंगलबार बागमती प्रदेश सरकारमा भएको हेरफेरमा परेका धादिङका शिवराज अधिकारी मन्त्रालयविहीन भएका छन् । पाँच मन्त्रालयको मन्त्री छान्न नसकेर आफू र दुई मन्त्रीले मात्रै शपथ लिएका ईन्द्रबहादुर बानियाँले निवर्तमान मुख्यमन्त्री लामासँगको सहमति मात्र तोडेका छैनन् ।

लामाको सरकार गिराउन महत्वपूर्ण भूमिका निभाएका र पार्टी सभापति शेरबहादुर देउवाका खास पात्र अधिकारीलाई मन्त्रालयविहीन बनाएर शपथ खुवाएका हुन् । उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिइने तयारी थियो ।

तर मन्त्री हुने चाहने र अनेक रुचिका कारण अधिकारी मन्त्रालयविहीन हुन पुगेपछि बानियाँको मन्त्रिमण्डल गठन पहिलो चरणमै असन्तुष्टि र विवादको घेरामा परेको छ । कांग्रेसका एक–एक केन्द्रीय नेताले आफूनिकटलाई मन्त्रीमा समेट्न बानियाँलाई दबाब दिएपछि मंगलबार पाँच मन्त्रीको नाम थाँती राखेर दुई मन्त्री र आफूले मात्र शपथ गरेका बानियाँ मन्त्रिमण्डल विस्तारमा चरम दबाबमा छन् ।

पार्टी सभापतिका विश्वासपात्र र सरकार गिराउन महत्वपूर्ण भूमिका निभाउने अधिकारी नै मन्त्रालयविहीन भएपछि अरु मन्त्री हुने आकांक्षीहरुले आफूअनुकुलका नेतामार्फत बानियाँलाई दबाब दिइरहेका छन् ।

ranechhap