दाङ । पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका ६ को स्याउली बजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् ।
उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरे ।
नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताए ।
घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने जनाए ।
त्यसैगरी उनले पीडित परिवारलाई प्रतिव्यक्ति रु २५ हजारका दरले उपमहानगरपालिकाले सहयोगस्वरुप किरीया खर्च उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा दलित मुक्ति मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्या नै भएको बताए ।
त्यस्तै मृतक बालकका हजुरबुबा कृष्ण गन्धर्वले घटना हत्या नै भएको जिकिर गर्दै हत्यमा संलग्नलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे । सो घटनाको अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुरसहित विशेषज्ञको टोली आएको थियो ।
शव परीक्षणका लागि बुटवलबाट विशेषज्ञ चिकित्सक बोलाइएको थियो । परीक्षण रिपोर्टमा चिकित्सकले शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य यस्तै कारणले मृत्यु भएको हो ।
यो होइन भनी अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइसकेको तुलसीपुर इलाका प्रहरी कार्यालय प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।
तुलसीपुरको स्याउली बजारमा यह वैशाख १९ गते आरजेओआईसीसी ०८८५ भारतीय नम्बरको कारमा बरुवागाउँ निवासी भीमबहादुर परियारका नौ वर्षका छोरा सन्दीप, सोही ठाउँका सन्तोष परियारका सात वर्षका छोरा सुवर्ण र कृष्ण परियारका छ वर्षका छोरा करण मृतावस्थामा भेटिएपछि उक्त परिवार न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेको छ । कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई प्रहरीले पत्राउ गरी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।