काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको ‘उपत्यका प्रदेश कोभिड राहत कोष’मा रकम जम्मा हुन थालेको छ । कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय गर्न सो राहत कोष बनाइएको थियो ।
कोषमा हालसम्म रु १ लाख १८ हजार रुपैयाँ जम्मा भएको महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष तथा राहत कोषका संयोजक अर्जुन पन्तले जानकारी दिए ।
उनका अनुसार कोषमा अध्यक्ष श्रीजन झाले ५ हजार रुपैयाँ सहयोग गरेका छन् भने उपाध्यक्ष वीरबहादुर लामाले १० हजार, महासचिव टेनिस रोकाले ५ हजार सचिव रोशनराज पाण्डेले १० हजार सहयोग गरेका छन् । कोषाध्यक्ष तथा कोषका संयोजक पन्तले ५ हजार रुपैयाँ सहयोग गरेका छन् भने कार्यसमिति सदस्य अर्जुन बहादुर तामाङले ५ हजार सहयोग गरेका छन् ।
यसैगरी कोषमा काठमाडौ अध्यक्ष सूर्य सुवेदीले १० हजार र केटीएम दैनिकी सम्पादक निशा ओलीले ५ हजार रुपैयाँका साथै काठमाडौ कार्यसमिति सदस्य शैलेश डंगोलले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रदेश समितिको बैठकको निर्णयअनुसार कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर संक्रमण भइ अस्पताल भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने संयोजक पन्तले बताए ।