वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन् ।
रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० वर्षीया महिला र पर्साको जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३७ पुगेको छ । मृतकमध्ये २४ जना पर्साका, ६ जना बाराका, ५ जना रौतहटका र २ जना सर्लाहीका छन् ।
बिहीबार बिहान भर्ना भएका ४५ वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो । बिहानै गरिएको एन्टिजेन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा पहिल्यैदेखि हाई ब्लड प्रेसर र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।
बुधबार भर्ना भएकी ६० वर्षीया महिलाको बिहान सवा ११ बजेतिर मृत्यु भएको हो । बुधबार भर्ना भएकी उनमा कुनै दीर्घरोग थिएन ।
त्यसको आधा घण्टा नबित्दै बिहान साढे ११ बजेतिर पर्सा जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १५ गते भर्ना भएका उनमा मिर्गौला, उच्च रक्तचाप मधुमेह र हृदयरोगको समस्या थियो ।
कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर तीनै जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जानकारी दिए ।
अधिकांश बिरामी अत्यन्त गम्भीर अवस्थामा अस्पताल आइपुगेका छन् उनले भने, ‘सकेको प्रयास गर्छौ, तर पनि कतिपयलाई बचाउन नसकेको अवस्था छ ।