वि.सं.२०८३ वैशाख १९ शनिवार

राजस्व अनुसन्धान कार्यालय पथलैयामा ३६६ प्रतिशतले बढ्यो चुहावटका मुद्दा, ६ करोड धरौटी संकलन

khanepani

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयामा राजस्व चुहावट सम्बन्धी मुद्दा बढेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यस कार्यालयमा चुहावटका मुद्दा बढेका हुन् ।

कार्यालय प्रमुख हरिप्रसाद शर्माका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १४ वटा राजस्व चुहावटको मुद्दा दर्ता भएको छ । जुन अघिल्लो आवको तुलनामा ३६६.६७ प्रतिशतले बढी हो । जबकी अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यस्तो मुद्दा तीन वटा मात्रै दर्ता भएको थियो ।

मुद्दा सङ्ख्यासँगै माग दाबीको रकम पनि बढेको छ । अघिल्लो आवमा राजस्व चुहावट मुद्दा माग दाबी रकम ४ करोड ५४ लाख ११ हजार २९८ रुपैयाँ रहेकोमा गत आवको राजस्व चुहावट मुद्दाको माग दाबी रकम ७६ करोड ३५ लाख ३६ हजार तीन सय रुपियाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १५८१.३८ प्रतिशतले बढी हो ।

कार्यालयले अघिल्लो आर्थिक वर्षमा ६ करोड ११ लाख ३५ हजार ८७५ रुपैयाँ राजस्व चुहावट धरौटी संकलन गरेकोमा गत आवमा ११ करोड ७६ लाख ८५ हजार रुपैयाँ राजस्व चुहावट धरौटी रकम संकलन गरेको छ । जुन अघिल्लो आ.व. को तुलनामा ९२.५० प्रतिशतले बढी हो ।

‘अघिल्लो आव २०८०/०८१ को तुलनामा निकै प्रभावकारी देखिएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले आव २०८१/८२ मा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चालेको छ । जुन कुरा कार्यालयको वार्षिक प्रगतिले देखाउँछ’, प्रमुख शर्माले भने ।

कार्यालयले दर्ता हुन आएका सूचना/उजुरी फर्स्यौटलाई उच्च प्राथमिकतामा राखेको कार्यालय प्रमुख शर्माले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ५८.३२ प्रतिशत सूचना/उजुरी फर्स्यौट भएकोमा यस आवमा ९२.१ प्रतिशत उजुरी फर्स्यौट भएका छन् । बाँकी उजुरी समेत फर्स्यौटको क्रममा रहेको उनले जानकारी दिए ।

आव २०८१/०८२ मा राजस्व अनुसन्धान कार्यालय पथलैयाले चुहावट र विदेशी विनिमय गरी २८ वटा मुद्दा दर्ता गरेको छ ।

धरौटीलाई निष्क्रिय रूपमा राख्नुभन्दा यसलाई राजस्व खातामा सदरस्याहा गर्दा यसको औचित्य सिद्ध हुने भएकाले कार्यालयले धरौटी सदरस्याहालाई पनि प्राथमिकतामा राखी काम गरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा यस ६ करोड ११ लाख ७३५ रुपैयाँ धरौटी सदरस्याहा भएको छ ।

यस कार्यालयले लिलाम बिक्रीमा पनि उल्लेख्य प्रगति हासिल गरेको छ । आव २०८०/८१ मा ८४ लाख ८६ हजार ८५९ रुपैयाँ बराबरको लिलाम विक्री भएकोमा गत आव २०८१/८२ मा ५ करोड ४९ लाख १८ हजार ६२६ रुपैयाँ बराबरको लिलाम बिक्री भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ५४७.१० प्रतिशतले बढी हो ।

त्यस्तै, यस कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ भीसीटीयस जरिवाना बापत ९९ लाख ९८ हजार रुपैयाँ दाखिला भएको छ ।

ranechhap