वि.सं.२०८१ चैत ३ आइतवार

कोरोनाको महामारीको चाप बढेपछि अस्पताल प्राङ्गणमै राखेर उपचार बिरामीको

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र ग्यालरी समेत भरिएपछि शंकास्पद र संक्रमितको अस्पताल बाहिरै उपचार थालिएको छ ।
५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको छ । १५ शय्याका आकस्मिक कक्षमा पनि उत्तिकै छ । आकस्मिक कक्षमा कोरोनाका लक्षण भएका र अन्य बिरामीहरू पनि छन् । आकस्मिक कक्षकै ग्यालरीमा पनि बिरामीको चाप छ ।

भित्र बेड र भुइँसमेत भरिएपछि केही बिरामीलाई अस्पताल बाहिरै उपचार गराउन थालिएको हो ।

कोभिडका लक्षण भएका तर, पुष्टि नभएका बिरामीहरूको प्राङ्गणमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

बेड छैन भनेर बिरामी फर्काउनु भन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु ठिक हो उनले भने अहिले हामीले यसै गरी व्यवस्थापन गरिरहेका छौँ ।

पीसीआरको रिपोर्ट आएपछि भने उनीहरूलाई त्यहाँबाट सारिने गरिएको छ ।

संक्रमित पुष्टि भएपछि कोरोना अस्पताल पठाउँछौँ नभए सम्बन्धित वार्डमा लैजान्छौँ सूचना अधिकारीले भने ‘अहिले अवस्था जटिल बन्दै गइरहेको छ।

केही दिनयता रिपोर्ट आउनु भन्दा अघि नै आकस्मिक कक्ष र ग्यालरीमै संक्रमितहरूको मृत्यु हुन थालेको । अहिलेसम्म ६ जनाको कोरोना संक्रमणबाट आकस्मिक कक्ष र ग्यालरीमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

कोरोनाको लक्षण हुँदा पनि पुष्टि नहुँदा सम्म कोरोना अस्पताल लगिने गरिएको छैन एक स्वास्थ्यकर्मीले भने, ‘संक्रमण यकिन नभएसम्म त्यही अनुसारको उपचार शुरू नगरिने भएकोले ६ संक्रमितकको ज्यान गइसकेको छ ।

प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती अस्पतालमा शय्या अभावमा गम्भीर प्रकृतिका बिरामी भर्ना गर्न नसकिएको वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले बताए ।

हामीसँग ठाउँ र जनशक्ति दुवैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यहीँ उपचार गरिरहेका छौँ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।

विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा उपचारमा संलग्न चिकित्सक र नर्सहरू पनि संक्रमित भएपछि झन् समस्या भएको बताइएको छ ।

संक्रमित र मृत्युदर पनि बढेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई फोन गरेर रोकथाम र उपचारमा प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

मंगलबार उपप्रधानमन्त्री पोखरेलले प्रजिअ रिजाललाई फोन गर्दै जिल्लामा बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएका जस्ता गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले सीमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सीडीओसँग जानकारी लिएको प्रशासन स्रोतले बताएको छ ।