काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनीषा झाले रेग्मी पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
पर्यटन बोर्डमा रहँदा रेग्मी एकपछि अर्को विवादमा मुछिएका थिए । २०७८ सालमा बेलायतबाट नेपाल फर्कने क्रममा आफूले ल्याएको रक्सीको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीसँग झगडा गरेका थिए ।
आफ्नो पदीय हैसियतको दुरुपयोग तथा नैतिक आचरण विपरीत काम गरेको भन्दै उनलाई बोर्डको सञ्चालक समितिले निलम्बनसमेत गरेको थियो । त्यतिबेला यस विषयमा गठित छानबिन समितिका संयोजक चन्द्रप्रसाद रिजाललाई उनले मार्ने तथा काट्ने धम्कीसमेत दिएका थिए ।
त्यस्तै, २०८० सालमा रेग्मीले बोर्डको ६० लाख रकम खर्च गर्ने गरी आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी कार्यक्रम गरेको आरोप लागेको थियो ।
उनी बोर्डमा रहँदा आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग आयोगले केही योजनासँग सम्बन्धित कागजात पनि मगाएको थियो । स्याङ्जाका स्थायी बासिन्दा रहेका रेग्मी विभिन्न व्यवसायमा पनि संलग्न छन् ।








































