काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरेको बताएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको भन्ने आरोप निराधार रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरू प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन् ।
आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको नभनेको बताएकी थिइन्। त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ । यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरू हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिसकेको छ ।
प्रधानमन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ । सोही सम्बन्धमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारविधि नै रहेको र भ्रम फिँजाइएकोमा आत्मालोचना सांसद स्वयंले गरिसकेको बताए ।
मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचिबाट बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताए ।









































