वि.सं.२०८१ चैत ३ आइतवार

राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन, डा. खिमलाल देवकोटा साझा उम्मेदवार

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार विहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तिबनमा छुट्टाछुट्टै सम्वाद गरेका थिए ।
उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सम्वाद गरेका छन् । नेताहरुका अनुसार बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनावमा साझा उम्मेदवार बनाउने सहमति जुटेको छ ।

लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका नारायण पाण्डेयलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यद्यपि त्यहाँको निर्वाचन तोकिएको छैन ।

बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।

एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवारी बनाउने तयारी गरेको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको यादव पक्षले भने देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन् ।

संघीयता र योजनविज्ञ देवकोटा एमाले नजिक हुन् । प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष रहिसकेका उनी पछिल्लो समूह माधवकुमार नेपाल समूह नजिक छन् । उपचुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने छन् ।