काठमाडौँ । राष्ट्रिय युवा परिषद्द्वारा सञ्चालित सङ्घीय नमुना युवा संसद्– २०८२ को नमुना युवा प्रधानमन्त्रीमा भक्तपुरका विजय खनाल र नमुना युवा सभामुखमा बाँकेका विवेक शर्मा निर्वाचित भएका छन् । देशभरबाट स्थानीय तह, प्रदेश हुँदै सङ्घीय तहमा छनौट भएर आएका ८० जना नमुना युवा सांसद् मध्येबाट उनीहरू निर्वाचित भएका हुन् ।
नमुना प्रधानमन्त्रीमा ६ जना र सभामुखमा सात जना नमुना सांसदले उम्मेदवारी दिएका थिए। उम्मेदवारहरूले ३ , ३ मिनेट आ–आफ्नो प्रतिबद्धता मन्तव्य राखेपछि मतदान प्रक्रिया अघि बढेको थियो ।
नमुना युवा प्रधानमन्त्रीको चुनावी प्रतिस्पर्धामा दिपक परियार , दीपेन्द्र गौतम , आकाश ओली , उमेश शर्मा सुवेदी , नविना सापकोटा र विजय खनालले भाग लिएका थिए। यसैगरी नमुना युवा सभामुख पदमा अंकित घिमिरे , दिपा आचार्य , विवेक शर्मा , भरत कठायत , सौगात घिमिरे , शिक्षा प्रसाईँ र शिवजी प्रसाद कुशवाहले प्रतिस्पर्धा गरेको थिए ।
नमुना युवा संसद्को अभ्यासमा राष्ट्रपति पदमा आशु चौधरी र नमुना युवा राष्ट्रिय सभाका अध्यक्षमा सोहम् सोनार सहमतिको आधारमा चयन भएका छन्। त्यस्तै नमुना प्रमुख प्रतिपक्षी दलको नेतामा रिजवान बधई निर्वाचित भएका छन्। त्यस्तै उपसभामुख पदमा रेनुका भट्टराई निर्वाचित भएकी छन् ।
परिषद्द्वारा १६–२४ वर्ष उमेर समूहका युवाहरूको नेतृत्व विकास विकास गर्दै मुलुकले अवलम्बन गरेको संवैधानिक अन्तर्वस्तु, शासकीय प्रबन्ध र कानुन निर्माण प्रक्रिया सम्बन्धमा चार दिनसम्म जीवन्त अभ्यास गराइएको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
चार दिनसम्म चल्ने अभ्यासका विभिन्न सत्रमा सांसद उदय शमसेर राणा, सुनिता बराल, सुदन किराती, मनिष झा, राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल, मुख्य प्रशिक्षक प्रकाश उपाध्याय लगायतले नमुना युवा सांसदहरूलाई आ–आफ्ना विषय, अभ्यास र अनुभव सहजीकरण गरेका थिए ।
आउँदो शनिबार सभामुख देवराज घिमिरेले नमुना युवा संसद् अभ्यासको अवलोकन गर्नेछन् ।









































