काठमाडौं । इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमले अदालतबाट सफाइ पाए । तर, उच्च अदालतको फैसला विवादमुक्त हुन सकेन ।
यसैबीच सो प्रकरणसँग जोडिएको एक ‘पीडित’ पहिलोपटक सार्वजनिक भएका छन् । ४३ वर्षीय गौरीशंकर राम चमार भारतबाट सो घटनाका विषयमा बयान दिन काठमाडौं आएका हुन् । आज उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा सबै बेलिबिस्तार लगाए ।
आलमले रौतहटको राजपुर फरहदवामा चलाएको राजा इँटाभट्टामा काम गर्थे चमार । त्यो दिन उनी पैसा लिन घरमा गएका थिए । उनले भनाइअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो ।
उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले सफाइ दिएको हो । बम पड्किएकै पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ । गौरीशंकर आफू बम बिष्फोटको साक्षीमात्र नभएर घाइते समेत भएको बताउँछन् ।








































