काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो ।
झापा घर भएकी ढकाल नवनारी मासिककी सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् ।
विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा ८ जनाले दरखास्त दिएकोमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेर पठाइएको थियो । ढकालसहित डा. श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नमा सिफारिस भएको थियो ।
अनाइनखबरसँग कुरा गर्दै उनले नयाँ शहर निर्माणा र बाहिरी चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
उपत्यका विकास प्राधिकरण ऐनअनुसार नेपाल सरकारले विशिष्ट श्रेणी वा सो भन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्ध प्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा विकास आयुक्तमा नियुक्त गर्ने व्यवस्था छ ।
विकास आयुक्तको पदावधि बढीमा पाँच वर्षको हुन्छ । नेपाल सरकारले चाहेमा निजको पदावधि पुनः बढीमा पाँच वर्षको लागि थप गर्न सक्नेछ । यसअघि भाइकाजी तिवारीले लगातार दुई कार्यकाल आयुक्तका रुपमा काम गरेका थिए ।









































