वि.सं.२०८३ वैशाख १६ बुधवार

कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने प्रक्षेपण, मुद्रास्फीति ३.५४ प्रतिशतमा सीमित

khanepani

सुर्खेत। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेशसभामा प्रस्तुत गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सोमबार कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण २०८१/०८२, मन्त्रालयगत प्रगति विवरण र बजेट तर्फको विवरण प्रस्तुत गरेका हुन्।

उनले दिएको विवरण अनुसार, चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालको औसत उपभोक्ता मुद्रास्फीति ४.३९ प्रतिशत रहेको छ भने सोही अवधिमा कर्णाली प्रदेशको औसत उपभोक्ता मुद्रास्फीति ३.५४ प्रतिशत मात्र रहेको छ।

गत आर्थिक वर्ष कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत रहेकोमा चालु वर्षमा ४.७४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन १ खर्ब ५१ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा १.६८ गुणाले वृद्धि भई २ खर्ब ५५ अर्ब ५९ करोड रुपैयाँ पुगेको मन्त्री शाहले जानकारी दिए।

त्यस्तै, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पनि बढ्दो क्रममा छ। अघिल्लो आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ७६ अमेरिकी डलर रहेकोमा चालु वर्षमा १ हजार ८९ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

शाहका अनुसार, प्रदेश सरकारले विगत सात वर्षमा कूल १ खर्ब ९९ अर्ब ९४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। तर, सो बजेटको खर्च भने अपेक्षा अनुसार भएको छैन। चालुतर्फ ६३।३९ प्रतिशत र पुँजीगततर्फ ५४.९५ प्रतिशत खर्च भई समग्रमा ५८.१७ प्रतिशत मात्र खर्च भएको छ।

चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्मको विवरणअनुसार, चालु तर्फ ५४.३६ प्रतिशत र पुँजीगत तर्फ ३१.९१ प्रतिशत खर्च भई कुल खर्च ४०.५० प्रतिशत पुगेको छ।

प्रदेश स्थापना भएदेखि आर्थिक वर्ष २०८०/०८१ सम्म आन्तरिक आय संकलन २ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ भएको छ, जुन लक्ष्यको ९१.३२ प्रतिशत हो। चालु आर्थिक वर्ष २०८१/०८२ मा जेठ मसान्तसम्म आन्तरिक आय संकलन ५२ करोड १५ लाख रुपैयाँ भएको छ, जुन लक्ष्यको ६२.५ प्रतिशत बराबर हो।

मन्त्री शाहका अनुसार, चालु आर्थिक वर्षमा बजेट विनियोजनको तुलनामा ७५ प्रतिशत अर्थात् २३ अर्ब २५ करोड ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस्तो छ बजेट:-

ranechhap