वि.सं.२०८३ असार १५ सोमवार

रामेछापका अग्रज व्यक्तित्व राजकुमार श्रेष्ठको पुस्तक ‘आफ्नो कथा आफ्नै व्यथा’ सार्वजनिक

khanepani

काठमाडौं । रामेछाप र ओखलढुंगाका पहिलो पुस्ताका शिक्षक तथा राजनीतिकर्मी राजकुमार श्रेष्ठको कृति ‘आफ्नो कथा आफ्नै व्यथा’ सार्वजनिक भएको छ । काठमाडौंको शंखमुलस्थित होटल ए वन प्यालेसमा आयोजित कार्यक्रममा श्रेष्ठको पुस्तक विमोचन भएको हो ।

सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट आफ्ना २ भाइको हत्या भए पनि अविचलित रूपमा आस्था र थातथलो नछाडेका श्रेष्ठले लेखेको पुस्तकका जीवन भोगाइका विषयहरू समेटिएका छन् ।

उनका भाइ गणेश श्रेष्ठ र उज्जन श्रेष्ठको माओवादीले हत्या गरेका थिए । दाजु भाइका हत्यारालाई सजाय दिलाउन बहिनी सावित्री श्रेष्ठले गरेको संघर्षको बारेमा पुस्तक विमोचन समारोहमा चर्चा भयो ।

अहिले गणेश उज्जन प्रतिष्ठानमार्फत विद्यालय भवन निर्माणलगायतका सामाजिक काम गर्दै आएको यो परिवारले तीन पुस्तासम्म रामेछापको साँघुटा र ओखलढुंगाको पोकलीलाई कार्यथलो बनाएर व्यवसाय तथा सामाजिक काम गरेको छ ।

पुस्तक विमोचन समारोहमा श्रेष्ठको राजनीतिक जीवनका समकालीन तथा अग्रज नेताहरू अमृत कुमार बोहोरा, ईश्वर पोखरेललगायत उपस्थित थिए ।

श्रेष्ठले पञ्चायतकालमा वामपन्थी राजनीतिक आस्था लागेबापत शिक्षक सेवाबाट बर्खास्त भएका थिए भने बहुदलीय व्यवस्थाको केही वर्षपछि पुनर्बहाली भएका थिए ।

राजकुमार श्रेष्ठले ओखलढुंगाको पश्चिम क्षेत्र र रामेछापको वामपन्थी राजनीतिको पहिलो पुस्ताको अग्रजका रूपमा काम गरेको र आफू उनीबाटै प्रभावित भएर कम्युनिस्ट बनेको विमोचन कार्यक्रममा पूर्व सांसद तथा नेकपा एसका नेता देवशंकर पौडेलले बताए ।

ranechhap