काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा पहिले लागू गरिएको ७० वर्ष उमेर सीमा र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधानबारे आफ्नो अडान स्पष्ट पारेका छन्।
पत्रकार राजेन्द्र बानियासँगको अन्तरवार्तामा पोखरेलले भने, ‘विगत महाधिवेशनले नेतृत्वका सन्दर्भमा दुई वटा कुरा तय गरेको छ। पहिलो, ७० वर्ष उमेर सीमा। दोस्रो, कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने, कार्यकालबीच अन्तराल हुनु पर्ने प्रावधान।’
उमेर सीमाबारे बोल्दै उनले थपे, ‘७० वर्ष उमेर हदको हकमा समाजवादीमा गएका साथीहरू वा अन्य पुराना पार्टीका नेताहरू फर्केर आउँदा त्यो सीमा समस्या बन्ने देखिएपछि हामीले हाललाई त्यसलाई खुला गर्यौँ। खुला गर्यौँ र साथीहरू पनि केन्द्रीय समिति र स्थायी समिति सम्ममा सहभागी हुनु भयो।’
आफ्नै उमेरसमेत ७० कटेको उल्लेख गर्दै पोखरेलले भने, ‘त्यसको अर्थ तपाईँ भन्नुस् केपी ओली पनि आउँदो कार्यकालमा अध्यक्ष नहुनुहोस्, म पनि उमेरको हिसाबले ७० कटिसकेँ। तर यो मैले व्यक्तिगत रूपमा उठाएको कुरा होइन। कसलाई लागू हुन्छ भन्ने प्रश्नभन्दा पनि हामीले जुन मान्यताको आधारमा व्यवस्था गरेका थियौँ, त्यस मान्यताप्रति अडिनुपर्छ भन्ने मेरो अडान हो।’
उता अनेरास्ववियुको २४ औ महाधिवेशनमा बोल्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साइप्रसको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीले उमेर हद लगाएर हटाएको चर्चा गरेका थिए ।







































