वि.सं.२०८३ भदौ ४ बिहीवार

मोरङ र सुनसरीमा थप ६ जना संक्रमितको मृत्यु

khanepani

विराटनगर । मोरङ र सुनसरीमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होम आइसोलेसनमा एक एक जनाको मृत्यु भएको हो ।

नोबेलमा विराटनगर महानगरपालिका १४ घर भएका ६२ वर्षीय वृद्धको बिहान २ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

उनका अनुसार इलामको इलाम नगरपालिका ४ घर भएकी २९ वर्षीया महिलाको पनि मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान ४:१५ बजे मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका ८ का ७७ वर्षीया वृद्ध महिलाको नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी सप्तरी हनुमाननगर कङ्कालीनी नगरपालिका २ का ३५ वर्षीय पुरुषको पनि बिहान ५:४५ बजे मृत्यु भएको छ । उनको नोबेलमै उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै मोरङको बेलबारी नगरपालिका २ का ६६ वर्षीय पुरुषको भने होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक असइ रहेका उनको बिहान ४ बजे मृत्यु भएको हो । नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । सप्तकोसी १ सप्तरीका पुरुषमा वैशाख १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुरामणि पोखरेलले जानकारी दिए ।

ranechhap