सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले बैठक अवरुद्ध गरेको हो ।
माओवादी सांसद विन्दमान विष्टले योजना बैंकमा परियोजना इन्ट्री गर्ने प्रक्रिया नै अपारदर्शी भएको आरोप लगाउँदै सरकारसँग चित्तबुझ्दो जवाफ माग गरेका छन् ।
‘विधिविपरीत काम भएको छ, सरकारबाट स्पष्ट उत्तर नआएसम्म सदन सञ्चालन हुन सक्दैन’, उनले भने, ‘योजना बैंकमा योजनाहरु इन्ट्री गर्ने विधि के हो ? के आधारमा इन्ट्री गरिएको हो ? प्रदेश सरकारलाई प्रश्न गर्न चाहन्छु । योजना बैंकमा योजना इन्ट्री गर्ने आधार के हो ? चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ ।’
सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छन् ।






































