वि.सं.२०८३ जेठ १७ आइतवार

भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउन कांग्रेस तयार नभएपछि रास्वपासँगको छलफल निष्कर्षविहीन

khanepani

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति बनाउन पनि अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको छलफल निष्कर्षविहीन भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक विना निष्कर्ष सकिएको हो ।

प्रतिनिधिसभा बैठकमा जेठ १३ गतेदेखि जारी गतिरोध अन्त्यका लागि कांग्रेससँग रास्वपाले कम्तीमा पनि भिजिट भिसा सेटिङको छानबिन गर्न संसदीय समिति बनाउन पर्ने माग राखेको थियो । त्यो माग कांग्रेसले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘भिजिट भिसाबारे संसदीय छानबिन समिति बनाउन पनि कांग्रेसले अस्वीकार गर्‍यो । त्यसपछि कुरा मिलेन । उहाँहरूले केही पनि नमानेपछि त कसरी सहमति हुने,’ प्रमुख सचेतक परियारले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएपछि कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल गर्दै आएको छ । रास्वपासँग कांग्रेसले गरेको यो दोस्रो छलफल हो ।

आज रास्वपासँग छलफल गर्नु अगाडि कांग्रेसले माओवादीसँग पनि छलफल गरेको थियो । कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्न नसकिने जवाफ रास्वपा नेताहरूलाई दिएको थियो ।

अवरोध खुलाउन सत्तारुढ दल कांग्रेसले अहिले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने र अख्तियारको छानबिन सकिएपछि भिजिट भिसाका सम्बन्धमा अध्यागमन देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्नका निमित्त के कस्ता संरचनागत कानुनी सुधार गर्नुपर्छ त्यसबारे सरकारले के के काम अगाडि बढाउन पर्छ भनेर सुझाव दिन समिति बनाउने भन्ने प्रस्ताव प्रतिपक्षी दलहरूसँग राखेको छ । कांग्रेसको त्यो प्रस्ताव मान्न प्रतिपक्षी दलहरू तयार भएका छैनन् ।

प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेका लागि बोलाइए पनि दलहरूबिच सहमति हुन नसक्दा अहिलेसम्म सुरु हुन सकेको छैन ।

ranechhap