चितवन । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दोलखामा नेपाली कांग्रेसको भवन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय काभ्रेले यही जेठ ९ गते बीपी स्मृति भवनको नामबाट नेपाली कांग्रेस दोलखा जिल्लाको पार्टी कार्यालय बनाउन ठेक्का सम्झौता गरेको हो ।
शहरी विकास तथा भवन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले गत चैतको १५ गते भवन निर्माणको लागि टेन्डर आह्वान गरेको थियो । जेठ ९ गते पीआर/याङ्ग्रा/डाइनामेट जेभी कम्पनीसँग २ करोड १४ लाख ८९ हजार ७८० रुपैयाँ लागतमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको शहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेन्द्र सिंह डाँगाले जानकारी दिए ।
उनका अनुसार दोलखाको भीमेश्वर नगरपालिका- ६ मा बनाइने बीपी स्मृति भवन सम्झौता भएको मितिले १८ महिनाभित्र काम सम्पन्न गरिसक्नु पर्नेछ । जसको बेसमेन्टसहित पाँच तले भवन रहने उनले जानकारी दिए ।
ठेक्का सम्झौता गरिएको चालु आर्थिक वर्षको दुई महिनामा फ्रेम संरचना र बाहिरी पर्खालको काम गर्नुपर्ने उनले जानकारी दिए ।
प्रदेश सरकारको रातो किताबमा परेको आयोजनाको निर्माण सम्झौता भइसकेको भए पनि उक्त भवन नेपाली कांग्रेसको भवन भए नभएकोबारे भने उनले थाहा नभएको जानकारी दिए ।
ठेक्का सम्झौता भइसकेपछि कांग्रेस दोलखाले भवनको शिलान्यास गरिसकेको छ । यही जेठ १७ गते नेपाली कांग्रेस दोलखाले पार्टीका कार्यकर्ता भेलासहित भव्य कार्यक्रमको आयोजना गरेर भवनको शिलान्यास कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए ।
कांग्रेस दोलखाका सभापति बर्मा लामाले बीपी स्मृति भवन बनाउन १७ गते शिलान्यास गरेको बताए, तर उक्त भवनमा पार्टी कार्यालय राख्नेबारे भने स्पष्ट जवाफ दिएनन् ।
‘हामीले सबैतिरबाट सहयोग पाउने आश्वासनपछि भवन शिलान्यास गरेका हौँ’, उनले नेपाल प्रेससँग भने, ‘भवन बनेकै छैन । बनेपछि पार्टी कार्यालय राखे पनि भयो, नराखे पनि भयो ।’
सभापति लामाले बीपी स्मृति भवन चारैतिरबाट सहयोग आउने आश्वासन पाएको बताए पनि पाँच तले भवनको सबै लागत प्रदेश सरकारले व्यहोर्ने गरी भएकोबारे भने स्पष्ट जवाफ दिएनन् ।
उनले भने, ‘प्रदेश सरकारले पनि पैसा थपथाप गर्ने त भनेको छ, तर कति दिने हो, मलाई थाहा छैन ।’









































