काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अवैध धन्दा, असुली, मानव बेचबिखन र छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्ष दलले माग गरेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सचेतक गंगाकुमारी बेलबासेले यस्तो माग गरेकी हुन् ।
बैठकको विशेषमा समयमा उनले भनिन्, ‘गृहमन्त्री रमेश लेखक बौद्धिक, शालीन, कानून बुझेको मन्त्री हुनुहुन्छ । उहाँले बुझ्नुपर्छ नैतिकताका आधारमा राजीनामा दिने भनेको पुनः उहाँ निर्दोष ठहरिएमा त्यही पदमा बहाल भएर आउन सक्नुहुन्छ । त्यसैले गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानबिन गर्नका लागि नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दछु । विगतका यस्ता घटना पनि छन् । त्यसो भएको हुनाले यसलाई सहयोग गर्नका लागि उहाँले राजीनामा दिनुपर्छ भन्ने कुरा म पुनः राख्न चाहन्छु ।’
माओवादी सचेतक बेलबासेले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख बनाएर सहसचिव तिर्थराज भट्टराईलाई खटाएपछि भिजिट भिसामा जाने नागरिकबाट दैनिक ५० लाख भन्दा बढी असुलेको सेटिंगमा विदेश पठाएको साविती बयान दिइसकेको बताइन् ।
उनले भ्रष्टाचार प्रकरणमा मुछिएका भट्टराईलाई छानबिनमा तानिनु एक दिन अघि सरुवा गर्नु, अख्यितारमा कार्यरत डीआईजीलाई सरुवा गर्नु लगायका काम गर्नु भ्रष्टाचारलाई सघाउनु भएको बताईन ।
उनले भनिन्, ‘गृहमन्त्रीले तिर्थराज भट्टराईलाई अध्यागमन प्रमुख बनाउनु छानबिनमा तानिनु एक दिन अगाडि फेरी मन्त्रालयमा उहाँलाई फिर्ता बोलाउनु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई प्रभाव पार्ने गरी सरुवा गर्नु, छानबिनमा खटिएका अख्तियारमा कार्यरत डीआइजी हिमालयकुमार श्रेष्ठलाई एकाएक सरुवा गर्नु र निष्पक्ष अनुसन्धान गर्न सघाउनुको सट्टा अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने गरी बिहान सरुवा गर्ने र दबाबका कारण बेलुका फिर्ता बोलाउने जस्ता काम उहाँले गरिरहनुभएको छ । यो सरासर भ्रष्टाचार हो । निर्दोष नेपाली बेचिएको छ । बोलीमा भ्रष्टाचार गर्दिन अथवा गर्न दिन्छु । यस्ता प्रश्न यहाँ उब्जिएको छ ।’
सचेतक बेलबासेले यस अघि नै भिजिट भिसा प्रकरणमा मुछिसकेकाले व्यक्तिलाई गृहमन्त्री लेखकले आफ्नो सचिवालयमा राख्नुले गृहमन्त्रीको संलग्नता छैन भन्न नसकिने बताइन् ।
उनले भनिन्, ‘गृहमन्त्रीको सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल पहिले नै भिजिट भिसा प्रकरणमा कारबाहीमा परेको व्यक्ति किन सचिवालयमा छानेर राम्रो विश्वासीलो कर्मचारी उनै विमल पौडेल ल्याउनुको कारण के हो भन्ने प्रश्न उठेको छ । यो यी देखिएका घटनाक्रमले गृहमन्त्रीसँग सम्बद्ध चलखेल सेटिंग छैन भन्ने प्रश्न उठेको छ ।’
धेरै जसो घटनामा धेरै मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिएको स्मरण गराउँदै सचेतक बेलबासेले गृहमन्त्री लेखकले पनि राजिनामा दिएर मार्गप्रशस्त गर्न माग गरिन् ।
उनले भनिन्, ‘कहिले विषय के कहाँ कहिले भन्नु भन्दा पनि उहाँले विभिन्न ठाउँमा उठाएका, बोलेका र सम्बन्धित व्यक्तिले राजीनामा दिनुपर्छ भनेर बोलेका विषय उठिरहेका छन् देखिरहेका छौ । त्यो मात्रै होइन कि यस्ता विषयमा हामी सबैले भन्छौं उहाँले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गर्नुपर्छ । सम्बन्धित मन्त्रालयमा बसेर डण्डा चलाउने, सरुवा बढुवा गर्ने होइन कि आफूले मार्ग प्रशस्त गर्नुपर्छ र एउटा न्यायिक छानबिनको लागि उहाँ तयार हुनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु ।’
भ्रष्टाचार प्रकरणमा मुछिएका तिर्थराज भट्टराईलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको साटो निगरानी र हाजिरीमा राख्नु छानबिनलाई खुकुलो बनाउन खोजिएको आरोप सचेतक बेलबासेको छ ।
उनले भनिन्, ‘सहसचिव तिर्थराज भट्टराईलाई जेष्ठ ७ गते अख्तियारले कार्यालयबाटै नियन्त्रणमा लिएको हो । हिरासतमा राखेर अनुसन्धान गर्नुको सट्टा निगरानी र हाजिरीमा राखेको छ । छानबिनलाई खुकुलो बनाउन खोजिएको छ । आशंका देखिएको छ ।’
माओवादी सचेतक बेलबासेले बिचौलियाको काम गरिरहेका कविता पौडेल र भरत सुवेदीलगायत ट्राभल एजेन्सी सञ्चालकलाई कडाई नगरिएको पनि बताइन् ।
उनले भनिन्, ‘ट्राभल एजेन्सी सञ्चालकलाई कडाइ गरिएको छैन । त्यस्तै बिचौलियाको काम गरिरहेका कविता पौडेल र भरत सुवेदीलाई कडाइ गरिएको छैन । उनीहरुका डिभाइस सुरक्षित छन ? र त्यहाँ भएको सामग्री सुरक्षित छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन । निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्छ । यो जघन्य अपराधको छानबिन कसरी भइरहेको छ ? यसको जानकारी गराउन म सरकारसँग माग गर्दछु । अवैध धन्दा, असुली, मानव बेचबिखन र छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गरियोस् ।’









































