काठमाडौ । काठमाडौ जिल्ला कारागार रूपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा ल्याउने प्रक्रिया अघि बढेको छ।
जिल्ला कारागार कार्यालय रूपन्देहीले लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको जेलर सुरेश भण्डारीले जानकारी दिए।
‘हामीले यहाँबाट अदालतको आदेशसहित अनुरोध गरी पठाउने हो। हामीले यहाँबाट आदेशसहित पठाइसकेका छौं,’ उनले भने।
तर विभागबाट निर्णय भने भइनसकेको उनले बताए।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पनि आइतबार पत्राचार गरिएको बताए।
‘उहाँले निवेदन दिनुभएको थियो। त्यस अनुसार पत्राचार गरिएको हो। तर निर्णय भएर आइसकेको छैन,’ उनले भने।
कारागार व्यवस्थापन विभागकी निर्देशक एवं प्रवक्ता कल्पना घिमिरेले भने आफूलाई यसबारे जानकारी नभएको बताइन्।
उच्च अदालतको बुटवल इजलासले चैत २२ गते रविलाई सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेशविरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा उच्च अदालतकै आदेशलाई सदर गरेको थियो।








































