काठमाडौं । जिल्ला अदालत ललितपुरले अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका १२ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान थाल्न प्रहरीलाई अनुमति दिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले ११ दिनअघि चितवनको पुरानो मेडिकल कलेजबाट ३ जना चिकित्सक र काठमाडौंबाट बाँकीलाई नियन्त्रणमा लिएको थियो।
अदालतले यस अघि उनीहरुलाई दिएको म्याद सकिएपछि ब्युरोले मंगलबार पुन म्याद थपका लागि अदालत लगेको थियो।
चितवनको पुरानो मेडिकल कलेजका राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेती,जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत रामचन्द्र ढकाल, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले, जमुना राज भण्डारी,असइ भिमप्रसाद खनाल,योगेन्द्रराज तिमल्सिना, रेष्मा राई ललितपुर महानगरपालिका ३ नम्बर वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जन र नवराज केसी पक्राउ परेका थिए।
पक्राउ परेका सबैलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।
डाक्टर सुभात श्रेष्ठ कलेजका सिईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन। डाक्टर श्रेष्ठ लगायतकाको टिम मृगौला प्रत्यारोपण संलग्न थियो। डाक्टर श्रेष्ठ नेपाल प्रहरीका अवकाशप्राप्त एक डिआइजीका छोरा हुन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा मिर्गौला प्रत्यारोपणको स्वीकृति पाउनु अघि नै मिर्गौला दिने र लिने दुबैलाई अस्पतालमा भर्ना गरेर राखेको खुल्न आएको हो। यी सबै कुराको तारताम्य नोबेल अस्पतालका डाक्टर राकेश बर्माले मिलाएको ब्युरोले जनाएको छ।
अस्पतालले मिर्गौला दिने र लिनेलाई २०७६ साल जेठ २० गते भर्ना गराएको थियो। तर मिर्गौला प्रत्यारोपण समितिले उनीहरूलाई प्रत्यारोपण गर्न २०७६ साल जेठ २६ गते मात्रै स्वीकृति दिएको ब्युरोको अनुसन्धानले देखाएको छ।
स्वीकृति पाएको भोलिपल्टै एक जनाको मिर्गौला झिकेर अर्को व्यक्तिमा हालिएको थियो। जसमा अस्पतालका डाक्टर सुप्रभात श्रेष्ठ लगायतकाको टिम संलग्न थियो। बिरामीलाई पहिला नै भर्ना राखेर हतार हतार अस्पतालले मिर्गौला प्रत्यारोपण गरिएको अनुसन्धानबाट खुलेको छ । सक्कल कागजात नहेरी फोटोकपीमात्र राखेर अस्पतालले सामान्य विवेक पनि प्रयोग नगरी काम गरेको भेटिएको प्रहरीले जनाएको छ।
ललितपुरका ५३ वर्षीय व्यक्तिलाई मिर्गौला दिनका लागि ओखलढुंगाका एक गरिब परिवारका व्यक्तिलाई फकाइ महँगो रकम लिने प्रलोभन दिइएको पनि प्रहरी अनुसन्धानले देखाएको छ।
ओखलढुंगाका ती व्यक्ति खोजी गर्ने र डाक्टर बर्माबीच एक हप्तामा ३० पटकभन्दा बढी कल भएको ब्युरोको दाबी छ। अवैध मृगौला प्रत्यारोपणमा मात्र होइन सो कलेज बेला बेलामा विवादमा समेत आइरहने गरेको छ।
शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसार मेडिकल कलेज सञ्चालनका लागि मेडिकल कलेजकै नाममा १६ विगाहा जग्गा अनिवार्य हुनै पर्दछ । तर, पूरानो मेडिकल कलेजको आफ्नो १ विगाहा पनि जग्गा छैन ।
भरतपुर अस्पतालको ७ विगाहा जग्गा लिजमा लिएर मेडिकल कलेज सञ्चालन गरिरहेको छ । सो कलेजले भरतपुर अस्पतालको नाममा रहेको सरकारी जग्गा धितो राखी नेपाल इन्भेष्टमेन्ट बैंकसँग मिलेर सय करोड रुपैयाँ ऋण लिएपछि सो कलेज पछिल्लो समय विवादमा आएको थियो। कलेजका संचालक भारतीय नागरिक नागेन्द्र पम्पाटी र भि नटराज हुन।