वि.सं.२०८३ वैशाख ५ शनिवार

सरकारले समितिका सभापति र प्रमुख सचेतकबाट पीएसओ हटायो : ज्ञानेन्द्र शाही

khanepani

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने सुरक्षा अधिकृत (पीएसओ) सुविधा सरकारले हटाएको दाबी गरेका छन् ।

पीएसओ हटाउँदा आफूलाई आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय रहेको बताए । बुधबार कुराकानीमा उनले भने, ’हामी जनताका मान्छे हाैँ , जनतामै सुरक्षित छाैँ। तर विभेद गरेर राप्रपाको मात्रै पीएसओ हटाइनु निन्दनीय हो ।’

शाहीका अनुसार संसदमा दलका प्रमुख सचेतक, समितिका सभापतिहरू लगायतलाई विगतमा एक/एक जना पीएसओ दिइने व्यवस्था थियो ।

तर, अहिले गृहमन्त्रालयको निर्णयअनुसार राप्रपाका प्रमुख सचेतक र समितिका सभापतिका ती सुरक्षाकर्मी हटाइएको हो ।’आजैबाट हटायो भन्ने सुनेको छु, यथेष्ट इन्फर्म गरेको छैन,’ शाहीले बताए ।

शाहीले यो निर्णय सबैका लागि समान हुनुपर्ने धारणा राखे। ’विभेद गर्न हुँदैन, हाम्रो खोस्ने, उनीहरूको राख्ने भन्ने कुरा स्वीकार्य हुँदैन,’ उनले भने। राप्रपाबाट समितिको सभापति दीपक सिंह रहेका छन् भने प्रमुख सचेतकबाट शाहीले सुविधा लिँदै आएका थिए ।

यो निर्णयको पछाडि चलिरहेको राजावादी आन्दोलनसँग सम्बन्ध छ कि छैन भन्नेबारे सोध्दा उनले भने, ’सायद केही होला ।’

ranechhap