काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढिगण्डकी जलविद्युत परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताएका छन् ।
परियोजना अघि नबढ्दा स्थानीय जनतालाई पीडा भएको आफूले महसुस गरेको बताए ।
गोरखाको भिमसेन थापा गाउँपालिकास्थित खाञ्चोकमा पालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा परियोजनालाई गति दिन पटकपटक सरोकारवालासँग छलफल गरेको बताए । तर, पनि चाहेजस्तो गरी परियोजना अघि बढ्न नसकेमा प्रचण्डले असन्तोष व्यक्त गरे ।
बुढिगण्डकी परियोजनाका लागि लगानी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पाँच प्रतिशत कर रोकिएमा आफ्नै कार्यकालमा त्यसलाई निरन्तरता दिएर लगानी सुनिश्चितको प्रयास गरेको उनले बताए ।
बुढिगण्डकी आयोजना बहुआयामिक र राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै उनले यो राष्ट्रको हितमा रहेको बताए ।
देशभर वितरणका दृष्टिकोणलाई गोरखाको बुढिगण्डकी जलविद्युत परियोजना उपर्युक्त रहेको भन्दै उनले दलहरु र सरोकारवालाबीच सहमति जुटाएर अघि बढाइछाड्ने बताए ।









































