वि.सं.२०८३ साउन १४ बिहीवार

पहिलेको अभिव्यक्तिको घेराबन्दीमा गृहमन्त्री लेखक, गृह मन्त्रालय भ्रष्टाचारी अधिकारीहरुको बचाउँमा

khanepani

काठमाडौं । भिजिट भिसा सेटिङमा पार्टीका नेता तथा गृहमन्त्री रमेश लेखक मुछिएपछि नेपाली कांग्रेसका नेताहरू दुईमतमा विभाजित भएका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नियमित सम्पर्क र समन्वय भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलिसक्दा समेत कांग्रेस नेताहरूबीच मत विभाजन भएको हो ।

भिजिट भिसाको सेटिङमा एयरपोर्ट अध्यागमन र गृहमन्त्रीको सचिवालयबीच प्रत्यक्ष सम्बन्ध देखिएको अनुसन्धानहरूले देखाएको छ, तर गृहमन्त्री मुछिएको यो प्रकरणमा विपक्षी दलका नेताहरूले प्रश्न उठाए पनि यतिसम्म कि सत्तापक्षका कोही नेता बोलेका छैनन् ।

गृहमन्त्रीको संलग्नता भइरहेको चर्चाबीच कांग्रेसका इतर पक्षका नेता डा. शेखर कोइरालाले प्रश्न उठेपछि राजीनामा दिनुपर्ने अभिव्यक्ति दिए, तर संस्थापन पक्षका नेताहरू भने बचाउमा उत्रिएका छन् । संस्थापन पक्षका नेताहरूले कोइरालाको काम नै सरकारको विरोध गर्ने भएकाले गृहमन्त्रीविरुद्ध बोलेको आरोप लगाएका छन् ।

गृहमन्त्री लेखक कांग्रेस(एमाले गठबन्धन निर्माणको सूत्रधारमध्ये एक हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवाका पनि विश्वासपात्र मानिन्छ । जसकारण कांग्रेसले सामाजिक सञ्जालदेखि मिडियासम्म यस विषयले चर्चा पाउँदा पनि औपचारिक रूपमा मुख खोलेको छैन ।

भलै आज विराटनगर पुगेर नेता कोइरालाले भने, ‘रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईंहरू भने भइहाल्यो नि ? गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि ? उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरे । छानबिन समिति बनाउनुस् गर्नुहोस् भने भइहाल्यो नि ? त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

कोइरालाले मात्रै होइन, इतर पक्षका अरू नेताहरू पनि प्रश्न उठेपछि विगतलाई हेरेर पनि राजीनामा दिनुपर्नेमा सहमत नै देखिन्छन् । जसमा गृहमन्त्री लेखकलाई अहिले आफ्नै अभिव्यक्ति गलपासो बन्दैछ ।

विपक्षमा हुँदा रवि लामिछानेको सहकारी ठगीको मुद्दा उठाउँदा गत चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा लेखकले प्रश्न उठेपछि मन्त्रीहरूले राजीनामा दिएको इतिहास सुनाएका थिए ।

उनले पूर्वमन्त्रीहरू डा. रामशरण महत, शेरबहादुर तामाङ, गोकुल बास्कोटा र जनार्दन शर्माको उदाहरण दिँदै रविलाई नैतिकताको पाठ पढाएका थिए । जुन अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ । अहिले उनलाई आफ्नै अभिव्यक्तिले लखेटिरहेको छ ।

उनको उतिबेलाको भनाइ
यदि कुनै मन्त्री अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्ता मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । यसअघि रामशरण महत अर्थमन्त्री भएका बेला उहाँमाथि प्रश्न उठेको छ ।
विदेशी बैंकमा खाता छ भन्ने प्रश्न उठ्दा उहाँले राजीनामा दिनुभएको इतिहास यसै संसदमा छ ।

माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा बोल्दा केही कुरा बिग्रियो, बेठीक बोल्नुभयो भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको इतिहास छ ।

माननीय गोकुल बाँस्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ । उहाँका माथि प्रश्न उठ्दा पनि छानबिनका लागि मार्गप्रशस्त गर्नुभएको छ । राजीनामा दिनुभएको छ, त्यो पनि संसदको इतिहास छ ।

पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्दाखेरि पनि राजीनामा गर्नुभएको थियो । यहाँ छानबिन समिति गठन भएको थियो ।

‘सदनमा जवाफ दिनुपर्छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले भने प्रश्न उठेपछि गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘आगामी बैठकमा उहाँले सत्यतथ्य जानकारी गराउनुहोला । उहाँले जानकारी गराउनुभएन भने उहाँले राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिनुपर्छ ।’

उनले पनि प्रश्न उठ्दैमा राजीनामा भन्दा पनि जवाफ दिन मौका दिनुपर्नेमा जोड दिए ।

खतिवडाले भने, ‘उहाँको संलग्नता छ भने हामी कसैले रोकेर रोकिँदैन, तर प्रचारमात्रै हो भने विचार गर्नुपर्छ । उहाँलाई जवाफ दिन मौका दिनुपर्छ । हामीले रवि लामिछानेको हकमा पनि पहिला राजीनामा मागेनौं, छानबिन र जवाफ माग्यौं ।’

गृहमन्त्री लेखकको प्रष्टीकरण
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर भइरहेको प्रचारबारे केही दिनमा विस्तृतमा बोल्ने बताएका छन् । आज धनुषा पुगेर आफूले गलत नगरेको भन्दै उनले नेता कार्यकर्तासँग प्रष्टीकरण दिए ।

उनले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरोबारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुईतीन दिन किन चुप लागेर बसेको थिएँ भने यो कहाँबाट कसरी, किन भइरहेछ भन्ने खोजिराखेको थिएँ । यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु ।’

मन्त्रालयले विज्ञप्ति निकाल्ने भन्दै उनले थपे, ‘दुईचार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रस्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ । यसमा आत्तिनुपर्ने कुनै कारण छैन । मैले जीवनभरि राजनीति गर्दा पार्टीका साथीहरूको मन सानो हुने, टाउको निहुरिने काम गर्दैन ।’

जुन दिन आफ्नो हातले कुनै गलत काम गर्छ, त्यसबेला आफू राजनीतिमा देखा नपर्ने भन्दै गृहमन्त्री लेखकले विश्वस्त रहन नेता कार्यकर्तालाई आग्रह गरे ।

गृह मन्त्रालय मन्त्रीको बचाउमा
गृह मन्त्रालयका सहसचिव छवि रिजालले हस्ताक्षर गरेको एक छान विज्ञप्ती सार्वजनिक भएको छ । त्यहाँ अख्तियारले छानविन गरिरहेको छ । त्यसबाट सत्यतथ्य बाहिर आइहाल्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भ्रष्टाचार कार्यमा मन्त्रालयका अधिकारीहरु संलग्न नभएको र नहुने पनि जारि विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्री लेखक भने पत्रकारहरुको जवाफ नदिई जित्ने प्रयासमा रहेको भिडियो सार्वजनिक भइरहेका छन ।

ranechhap