काठमाडौ । काठमाडौ परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच टोकियोमा भेटवार्ता भएको छ।
जापान भ्रमणमा रहेकी मन्त्री राणा र जापानी विदेश मन्त्री ताकेसीबीच बिहीबार टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो।
त्यस अवसरमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
उनीहरूका बीचमा नेपाल-जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरूमा पनि कुराकानी भएको थियो।
नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सव मनाउँदै छन्।
त्यस भेटका अवसरमा मन्त्री राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन्।
मन्त्री राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन विदेश मन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा तथा सुनिश्चितता प्रदान गर्ने पनि बताएकी थिइन्।









































