वि.सं.२०८१ फागुन १ बिहीवार

पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गरिएको थियो ।

दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक मृत्यु भएको छ । पोखरामा कार्यरत चिनियाँ नागरिक स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् । र उपचारका साउन २ मा हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।

परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा निधन भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोेकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर साउन २ मा अस्पताल पुगेका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ६ गते निधन भएको थियो ।

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६/६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३/३ जना, बर्दिया र सल्यानका २/२ जना तथा चितवन र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । उनीहरुमध्ये ४२ जनाको मृत्यु भएको छ भने १२ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २०७ जना डिस्चार्ज भएका छन् ।

Untitled