काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकारलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भनेर प्रश्न गरेकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राज्यलाई लाज नलाग्ने भए अविवाहितहरू जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छन् भन्दै व्यङ्ग्य गरिन् ।
थिङले अर्थमन्त्रीसँग विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग माग गरिन् । उनले भनिन्- ‘कानुनमा परिवार भन्नाले आमाबाबु छोराछोरी पति पत्नी बाजे बज्यै र सौतेनी आमा भनिएको छ । बाबु आमा मरिसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवाहितको कमाइमा बढी कर लगाउँदै आएको छ । के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेन छ ।’
थिङले भनिन्, ‘यदि राज्यलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भने, हामी अविवाहितलाई बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहित जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छ । होइन भने राज्यले विवाहित र अविवाहितलाई विभेद गरी कर उठाउन पाइँदैन । विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग जोडदार माग गर्दछु ।’









































