काठमाडौं । काठमाडौंको जडिबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना खाली गराइने भएको छ ।
सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त सूचना निकाल्दै सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना / नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ भत्काउन/हटाउन ३५ दिनको अल्टिमेटम दिइएको हो ।
सोमबार प्रकाशित सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ मंसिर १८ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५ / १५ मिटर सडकको सीमा (Right of Way) कायम रहेको साथै नेपाल सरकार र स्थानीय सरकारका निकायबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।
तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए सार्वजनिक सडक ऐन, स्थानीय सरकार सञ्चालन ऐन र भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारवाही गरिने सूचनामा जनाइएको छ ।










































