वि.सं.२०८१ चैत ३ आइतवार

चितवन कारागारबाट छुटेका वीरजंगलाई नवलपरासी अदालत समक्ष पेश

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहा भएका छन् ।

जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । उनलाई शुक्रबार नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको छ । ‘हाम्रा साथीहरुले उहाँलाई नवलपरासी सुस्ता पश्चिमको अदालतमा छाडेर आउनुभयो, जेलर काफ्लेले बताए ।

पहिला २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्न नमानेका वीरजंग अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख जेलर काफ्लेले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो ।

अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो । जेलर काफ्लेका अनुसार वीरजंगलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो ।

बम विस्फोटको मुद्दामा कारागार चलान भएका वीरजंग सामान्य अन्य कैदीसरह नै बसेको र सामान्य व्यवहार गरेको जेलर काफ्लेले बताए । ‘उहाँले जाने बेलामा धन्यवाद नै दिएर जानुभयो, बीचमा विप्लव पनि भेट्न आउनुभएको थियो, जेलर काफ्लेले भने, ‘हामीले सामान्य ढंगले नै नियमअनुसार राखेका थियौं ।
यसअघि वीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।

सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ ।
विप्लव समूह धरौटी नबुझाइ रिहा गर्नुपर्ने अडानमा थियो । तर सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै नेता माइला लामा धरौटी बुझाएर विहीबार रिहा भएका थिए ।