काठमाडौं । मंगलबार अपरान्ह निधन भएका नेकपा एमालेका नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ । एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छा अनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो ।
पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्,जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।
आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदिप नेपालको हकमा तोडिने भएको छ । परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बुझिएको छ ।









































